५ आश्विन, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने बताउनुभएको छ ।
आज चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ कन्फरेन्समा सम्बोधन गर्दै प्रचण्डले नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार गर्ने बताउनुभयो ।
‘नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छन् । नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं ।’ उहाँले भन्नुभयो ।
पछिल्लो समय मित्र राष्ट्र अमेरिकाले दिने भनेको अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अनुमोदन गर्ने कि नगर्ने बहस चलिरहेका बेला प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूलाई यस्तो बताउनुभएको हो ।
उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्समा नेपालले हस्ताक्षर गरेपछि दुई देशका विभिन्न तहमा भइरहेको सहकार्यप्रति खुसी व्यक्त गर्नुभयो ।
यता नेकपा र सिपीसीबीच ‘भर्चुअल सम्वाद’ हुने समाचार सार्वजनिक भएपछि पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ?’ भन्दै प्रश्न नै गर्नुएभएको छ ।
थापाले आफ्नो ट्वीटर ह्याण्डलमा थप मार्फत भन्नुभएको छः ‘आपत्तिजनक र नवऔपानिवेशिक अभ्यास । अब यसरी अन्य राजनीतिक दलहरुले पनि आफूअनुकूलका विदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतिक र आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला ?’
नेकपा र सिपीसीबीचको बाक्लिँदो सम्बन्धबाट थापा झस्किएका मात्रै होइनन्, नेकपा र सिपीसीबीच हिमचिम बढ्दै जाने हो भने नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने आशंका पनि व्यक्त गर्नुभएको छ ।
काँग्रेस नेता तथा पूर्व परराष्टमन्त्री डा. प्रकाशशरण महत पनि ‘नेपालले यस्तो बेला दुई छिमेकीबीचको सम्बन्धलाई सन्तुलनमा राख्न सक्नुपर्ने’ बताउनुहुन्छ ।
‘केही दिनयता भारत र चीनबीच सीमा विवादले भीडन्त भएको स्थिति छ । भारतका २० जना सैनिक मरेका छन् । नेपालले यी दुवै देशसँग राम्रो सम्बन्ध राखेर आफ्नो सहअस्तित्व, राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाएर अगाडि बढ्नुपर्ने हुन्छ’, डा. महतको भनाइ छ ।