४ आश्विन, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ लाई प्रमाणीकरण गर्नुभएको छ । आज राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
योसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप कायम भएको छ । आज मात्र नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित गरेको थियो । त्यसपछि राष्ट्रियसभाले उक्त विधेयक पारित भएको सूचना प्रतिनिधिसभा जानकारी गराएको थियो ।
प्रतिनिधिसभाले राष्ट्रियसभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर विधेयक सभामुख अग्नि सापकोटाबाट प्रमाणित गराएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो ।
राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।
उक्त विधेयक प्रतिनिधिसभाबाट जेष्ठ ३१ गते र राष्ट्रियसभाबाट आज पारित भएको हो । सरकारले गत जेष्ठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।
संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्दा समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने तथ्य र प्रमाण नपुग्ने भन्दै संशोधन विधेयक दर्ता गरेकी थिइन । जसलाई सभामुख सापकोटाले अस्वीकृत गरिदिएका थिए ।
नयाँ नक्सालाई संवैधानिक मान्यता दिने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सत्तारुढ र विपक्षी दल एक ठाउँमा उभिए । आज राष्ट्रियसभामा भएको छलफलमा पनि नेताहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको बताएका थिए । नेताहरुले त्यसका विभिन्न प्रमाणसमेत सभामा प्रस्तुत गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले भारत वार्तामा बस्न तयार हुनुपर्ने बताउनुभयो । आज राष्ट्रियसभा बैठकमा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा राख्नुभयो ।
दीप प्रज्वलन गर्न आह्वानः
राष्ट्रिय सभामा संशोधन विधेयकमाथि छलफमा उठेका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन भएको खुसियालीमा दीप प्रज्वलन गर्न सर्वसाधरणमा आग्रह गर्नुभएको छ ।
उहाँले अब सीमा समस्याका विषयमा भारतसँग वार्ता हुने पनि बताउनुभयो ।
‘हामीसँग तथ्य र प्रमाण धेरै छन् । प्रमाण भएकै आधारले हामीले हाम्रो भूभाग भनेका हौं’ उनले भनिन्, ‘अब तथ्य र प्रयाप्त प्रमाणका आधारमा वार्ताको टेबुलमा बस्छौं । नेपाल सरकार वार्ता गर्दा कुनै पनि तथ्य र प्रमाणलाई नछोडीकन बस्छ ।’