संविधान संशोधन विधेयक राष्ट्रपतिबाट आजै प्रमाणित गरिने

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट आजै प्रमाणित गरिने


४ आश्विन, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संविधान संसोधन दोश्रो विधेयक आजै प्रमाणित गर्नुहुने भएको छ ।

अतिक्रमित लिम्पियाधुरा सहितको नेपालको सम्पूर्ण भूभाग समेटिएको नेपालको नयाँ नक्सा सहितको निसान छाप आज राष्ट्रियसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । यसअघि प्रतिनिधिसभाबाट गत जेष्ठ ३१ गते संविधानको धारा ९ को उपधारा २ अन्तर्गत अनुसूची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा राख्ने प्रस्ताव पारित भएको थियो ।

राष्ट्रियसभाबाट विधेयक पारित भएसँगै यसबारेको जानकारी प्रतिनिधिसभामा पठाइएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट विधेयक पारित भएको जानकारी गराइने र सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गर्नुहुने छ । त्यसपछि आजै राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणित गर्नुहुने छ ।

विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राख्नुभएको थियो ।

राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन ।

विधेयकमाथिको दफावार छलफलपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक समावेश गरी सरकारले नयाँ नक्सा जारी गरेको थियो । सो नक्सा नेपालको निशान छापमा समावेश गर्नका लागि संविधान संशोधनको प्रक्रियालाई अघि बढाइएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर