म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ खेलाडीलाई सर्वोच्चले दियो सफाइ

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ खेलाडीलाई सर्वोच्चले दियो सफाइ


२ आश्विन, काठमाण्डौँ । सर्वोच्च अदालतले राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित ६ जनालाई सफाई दिएको छ । तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् । ६ वर्षअघि महानगरीय अपराध महाशाखाले थापासहित ६ जनालाई पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको हो । विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा उनीहरुलाई प्रहरीले २०७२ साल असोज २७ पक्राउ गरेको थियो ।

२०७५ जेष्ठ २४ गते विशेष अदालतले उनीहरुलाई म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । त्यसलगत्तै उनीहरु विरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा दायर भएको थियो ।

आज सर्वाेच्च अदालतले समेत सफाइदिएपछि तत्कालिन टोलीका कप्तान सागरले नेपाली फुटबलमा कम्व्याकको पर्खाइ रहेको बताए । थापाले एसियाली फुटबल महासंघसँग प्रतिबन्ध फुकुवा गर्न एन्फाबाट पहल गर्नुपर्ने बताए । एन्फालाई प्रश्न गर्दै थापाले भने ‘हामीलाई नेपालको कानुनले पटक पटक सफाइ दिएको छ अब एन्फाले प्रतिबन्ध फुकुवा गर्न कहिले पहल गर्छ ?’

एएफसीले सकारात्मक निर्णय दिए फेरि खेल जगतमा लाग्ने कप्तान थापाले बताए । ‘फुटबलमा कमव्याक गर्ने सोचेर बसेको छु ।’ उनले भने ‘ वास्तविकतामा भन्नुपर्दा लामो समयको ग्यापका कारण फेरी फुटबल फर्कन पक्कै गाह्रो हून्छ । फुटबल क्षेत्रमा आएर खेल्न सके खेल्ने नसके फुटबल विकासमा लाग्नेछु । यो बारेमा एन्फाले सोचोस् ।’ उनले नेपाली फुटबलमा उचाई लिइरहेको समयमा भएको प्रतिबन्धको क्षतिपुर्ति दिनुपर्ने बताए ।

‘फुटबल करियर त सकियो समाजमा समेत बेइज्जत गराइयो । अब क्षतिपुर्तिको कुरा हून्छ । यत्रो बर्ष फुटबलमै विताइयो । फुटबलमै भविष्य बनाउने सोच बनाएसँगै प्रतिबन्ध लगाइयो । त्यो समय देखी अहिलेसम्म ५ बर्षसम्म खेल्न नपाउँदाको क्षतिपुर्ति कस्ले दिने भन्ने प्रश्न आउनुपर्छ’ उनले भने ‘एन्फाले दिने की सरकारले ?’ फुटबलमा कमव्याकको लागि एएफसीको फुकुवा मात्र अब बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर