ऐतिहासिक निर्णयः संविधान (दोस्रो संशोधन) विधेयक संसदबाट सर्वसम्मतले पारित

ऐतिहासिक निर्णयः संविधान (दोस्रो संशोधन) विधेयक संसदबाट सर्वसम्मतले पारित

३१ जेष्ठ, काठमाण्डौँ । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ ।

दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले पारित भएको हो । प्रतिनिधिसभा बैठकमा २५८ सांसद उपस्थित थिए । उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा मत दिएका हुन् । विपक्षमा मत परेन ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस” भनी आजको सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।

नेपालको नयाँ राजनीतिक नक्सा जारी भएसँगै सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक अघि बढाएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर