३१ जेष्ठ, काठमाण्डौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताउनुभएको छ । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पार्नुभयो ।
लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताउनुभयो । अरू विषयमा आफू नबोल्ने भन्दै छोटो सम्बोधन गरेका देउवाले राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने प्रष्ट पार्नुभयो ।
सुगौली सन्धिदेखि नै काली (महाकाली) नदी पूर्वको भू–भाग नेपालको भन्ने प्रष्ट रहेको उनले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रियताको यो विषयमा समर्थन देखिनु नेपालको हितमा देखिएको छ । यो अत्यन्तै महत्वपूर्ण छ ।’
उहाँले कालापानी पूर्वको भूमि नेपालको भएकोमा कुनै शंका नभएको बताउनुभयो । ‘सुगौली सन्धि १८१६ अनुसार काली नदी पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि स्पष्ट छ र चिनियाँ नक्सामा पनि कुटियाङ्दी भन्ने उल्लेख छ । त्यसको अर्थ काली नदी भन्ने हुन्छ । काली नदी पूर्वको भाग नेपालको हो भन्ने स्पष्ट छ र दुईमत छैन ।’