२९ जेष्ठ, काठमाण्डौँ । सरकारको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठी चार्ज गरेको छ । विरोधमा उत्रिएकाहरुलाई प्रहरीले धरपकड गरेको थियो । उनीहरुमाथि पानीको फोहोरा प्रहार गरिएको थियो ।
प्रदर्शनकारीहरुले सरकारले दश अर्ब पैसा के मा खर्च गर्यो ? कर केका लागि ? जस्ता प्रश्न गरेका थिए । उनीहरुले बोकेका प्लेकार्डमा हरेक चीजमा भ्रष्टाचार, हाम्रो नेपाल हाम्रो शान, हरेक चीजमा अनुदान, शक्तिमा भएका मानिहरुभन्दा मानिसको शक्ति बलियो, जनता भोकै सिममा, सरकार व्यस्त गफ दिनमा, लगायतका नाराहरु लेखिएको थियो ।
त्यस्तै, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने उनीहरुको मुख्य माग छ । कोरानो रोकथाम तथा नियन्त्रणको लागि सरकार उदासिन भएको उनीहरुको गम्भिर आरोप छ ।
कोरोनाभाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिकस्तरमा असन्तुष्टि बढ्दो छ । महामारी नियन्त्रणका लागि सरकारले केवल लकडाउन गरेको, परीक्षणको दायरा बढाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी हुन नसकेको आदि विषयलाई लिएर राजधानीमा सर्वसाधारण विरोधमा उत्रिएका हुन् ।