२९ जेष्ठ, काठमाण्डौँ । सरकारले कोरोनाभाइरस कारण सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो । सो प्रस्ताव स्वीकृत भएको ती मन्त्रीको भनाइ छ । ती मन्त्रीका अनुसार विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र त्यसकै आधारमा ग्रेड निर्धारण गरी नजिजा सार्वजनिक हुनेछ ।
गत चैत ६ गते नै हुनुपर्ने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताउनुभएको छ ।
‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ’, पोखरेल भन्नुहुन्छ, ‘यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने छन् ।’
लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकाले आवश्यक निर्णय गरिएको उहाँको भनाइ छ ।
‘कोभिड–१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सञ्चालन गरिएको र कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीहरूको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व बोध गरेर क्याविनेटले निर्णय गरेको छ,’ मन्त्री पोखरेलले सामाजिक सञ्जालमा ट्विट गर्नुभएको छ ।