२७ जेष्ठ, काठमाण्डौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्नका लागि संसदमा पुगेको नेपालको संविधान संशोधन प्रस्तावमा संघीय संसदमा सबै दलले समर्थन जनाएका छन् । उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा बोल्दै सत्तारुढ नेकपाका साथै प्रमुख प्रतिपक्षी कांग्रेसलगायत समाजवादी पार्टी र राजपाले पनि समर्थन जनाएका छन् । त्यस्तै, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संविधान संशोधन विधेयकमा समर्थन जनाएका हुन् ।
संसद्मा सहभागि सम्पुर्ण राजनीतिक दलहरु राष्ट्रियताको बिषयमा एक ठाउँमा उभिएको भन्दै कानुन, न्याय तथा संसदिय मामिला मन्त्री शिवमाया शिवमाया तुम्वाहाङफेले सम्पुर्ण राजनीतिक दलहरुलाई धन्यवाद दिनुभयो ।
‘आजको यस ऐसितहासिक दिनमा हामी भन्दा पनि आम नेपालीहरु धेरै खुसी भएको होलान् ।’ उहाँले भन्नुभयो ।
यस्तैगरी उहाँले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गरेरै छाड्ने पनि बताउनुभयो ।