जसपाका असन्तुष्ट नेताहरु विच बैठक जारी, सरिता गिरीको बिषयमा नेताहरु दुई धारमा

जसपाका असन्तुष्ट नेताहरु विच बैठक जारी, सरिता गिरीको बिषयमा नेताहरु दुई धारमा


२७ जेष्ठ, काठमाण्डौँ । नवगठित जनता समाजवादी पार्टी नेपालमा दर्ता नहुँदै विवाद उत्पन्न भएको छ । ५१ सदस्यीय कार्यसमिति सहित जेठ २५ गते निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएपछि थुप्रै नेताहरु असन्तुष्ट बनेका हुन् ।

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा र राजकिशोर यादव निर्वाचन आयोग नै पुग्नु भएन । ५१ सदस्यीय कार्यसमितिमा आफ्नो मान्छे नपरेको कुरामा उहाँहरु लगायत तत्कालिन राजपाकै शरतसिंह भण्डारी, महेन्द्रराय यादव पनि असन्तुष्ट रहेको स्रोत बताउँछ । उहाँहरुको आज छुट्टै बैठक बसिरहेको छ ।

कार्यसमितिमा राजपा नेपालको तर्फबाट नाम राख्दा महन्थ ठाकुर र राजेन्द्र महतोले मनपरी गरेको आरोप उहाँहरुको रहेको राजपा नेपालका तत्कालिन सचिव राहुल यादवले बताउनुभयो ।

‘राजपा नेपाल ६ वटा पार्टी मिलेर बनेको पार्टी हो । त्यसमा सबैको बराबरको अधिकार छ तर महन्थ ठाकुर र राजेन्द्र महतोले जसपा नेपालको केन्द्रीय समितिमा अधिकांश आफ्नै मान्छे मात्र राखेका छन्,’ उहाँले गुनासो गर्नुभयो । महन्थ ठाकुरले आफ्नो तर्फबाट ९ जना र राजेन्द्र महतोले आठजना नेता रहेका छन् ।

शरतसिंह भण्डारी र महेन्द्र राय यादवको दुई दुईजना राखिएको छ भने अनिलकुमार झा र राजकिशोर यादवका एकजना नेता पनि परेका छैनन् ।

स्रोतका अनुसार कार्यसमितिमा दलित, मुस्लिम, आदिवासी जनजाति, महिला लगायतलाई स्थान नदिएको गुनासो पनि उहाँहरुको छ ।

आज असन्तुष्ट पक्षहरुको छुट्टै बैठक भइरहेको र सो बैठकमा कुनै नकुनै निर्णय बाहिर ल्याउने तयारी गरिरहेको नेता राहुल यादवले बताउनुभयो ।

त्यस्तै, तत्कालिन समाजवादी पार्टीमा पनि असन्तुष्टि बढेको छ । समाजवादी पार्टीमा मधेशी नेताहरुलाई किनारा लगाएर अधिकांश नेताहरु अशोक राई र डा.बाबुराम भट्टराईको टीमबाट नाम राखिएको भन्ने गुनासो बढेको छ ।

मधेशमा आन्दोलनमा ठूलो बलिदानपछि निर्माण भएको मधेशी जनअधिकार फोरम हुँदै समाजवादी पार्टीमा मधेशी नेताहरुलाई कुनै स्थान नदिएको गुनासो नेताहरुले गर्न थालेका छन् ।

५ जना पदाधिकारीमा तत्कालिन समाजवादी पार्टीमा तीनजना रहेका छन्, त्यसमा मधेशबाट एकजना उपेन्द्र यादव आफै रहेका छन् ।

यता जसपाकी सांसद सरिता गिरीले नेपालको भौगोलिक अखण्डता विरुद्ध बोलेको भन्दै गिरीमाथि स्पष्टीकरण लिनुपर्ने चौतर्फी रुपमा दबाब भएपछि जसपाभित्र पनि गिरीलाई स्पष्टीकरण लिनुपर्ने कुरा उठेको छ । तर, अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले भने स्पष्टीकरण लिन आवश्यक नरहेको अडान लिनुभएको स्रोतको भनाई छ ।

एक नेताले दिएको जानकारीअनुसार गिरीको अभिव्यक्तिलाई लिएर पार्टीमाथि प्रश्न उठाईएकोले बरिष्ठ नेताद्धय अशोक राई र बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठले तत्काल गिरीलाई स्पष्टीकरण लिनुपर्ने अडान लिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर