२७ जेष्ठ, झापा । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत झापाको काँकडभिट्टा–इनरुवा खण्डको १ सय ६ किलोमिटर लामो रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।
रेलमार्ग निर्माणका लागि झापा, मोरङ र सुनसरी जिल्ला भित्रका लगभग ४ हजार कित्ता अर्थात करिब ६ सय ७३ बिघा १८ कठ्ठा जमिन अधिग्रहणको कार्य अघि बढाईएको हो ।
जसमा सबैभन्दा बढी झापामा ३ सय ३ बिगाह, मोरङमा २ सय ३० बिगाह र सुनसरीमा १ सय ४० बिगाह १८ कठ्ठा जमिन अधिग्रहणको प्रकृया थालिएको आयोजनाले जनाएको छ । अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय झापाले गत जेष्ठ २४ मा सूचना प्रकाशित गरेको थियो ।
रेल, मेट्रो रेल र मोनो रेल विकास आयोजनाका इन्जिनियर विनोद ओझाका अनुसार रेलमार्गका लागि अधिग्रहण गरिने जग्गाका धनीलाई मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ । मुआब्जा प्रक्रिया सुरु गरेसँगै रेलमार्ग निर्माणको कामले गति लिन थालेको इन्जिनियर ओझाले वताउनुभयो । उहाँका अनुसार झापा सहितका तीनवटै जिल्ला प्रशासन कार्यालय र पालिकाहरुमा हक दाबीका गर्न विभागले सूचना प्रकाशित गरिएको छ ।
जग्गा प्राप्ति ऐन, २०३४ अनुसार सूचना प्रकाशित भएको र यो मितिले ३५ दिनभित्र सम्बन्धित जग्गाधनीले सम्पर्क राख्नु पर्ने जनाइएको छ । जग्गाधनी वा जग्गाको मोही वा निजको ऐनबमोजिम अधिकारप्राप्त वारेसले जग्गाधनी प्रमाणपुर्जा, मालपोत तिरेको रसिद तथा नेपाली नागरिकताको प्रमाणपत्रका साथमा सम्पर्क राख्न सूचनामार्फत सम्वन्धित जग्गाधनीहरुलाई अनुरोध गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना मगरले जानकारी दिनुभयो ।
रेल विभागले रेलमार्गभित्र पर्ने जग्गामा बनेका घरटहरा, गोठ, पर्खाल वा रुख–बिरुवा, बोरिङ आदिसमेत खुलाई जिल्ला प्रशासन र पालिकाहरुमा आवेदन दिन सूचनामा अनुरोध गरेको छ ।