२५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री युवराज खतिवडाले सरकार र पार्टीको विचारधारलाई संकटमा पार्दै लगेको सांसद नवीना लामाले बताउनुभएको छ । प्रतिनिधिसभाको आजरको बैठकमा उहाँले शिक्षाबारे अर्थमन्त्रीले लिएको नीतिको आलोचना गर्दै नेकपाको घोषणापत्र र संविधान हेर्न सुझाव दिनुभएको छ ।
मन्त्री खतिवडालाई लक्षित गर्दै लामाले भन्नुभयो, ‘अर्थमन्त्री चुनावमा लड्नु हुँदैन भनेर होला सरकार र पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गर्नु हुँदैनथ्यो । अर्थमन्त्रीज्यू, यस्तो काम कहिले पनि गर्नु हुँदैन ।’
बजेटको १६६ धारामा सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नती गर्ने जिम्मेवारी नीजि क्षेत्रबाट संचालित विद्यालयलाई दिने भन्ने उल्लेख छ । उक्त योजना आफूले प्रस्ताव नगरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञप्ति जारी गरेर जानकारी गराएका छन् । उक्त योजनाको प्रतिरक्षा अर्थमन्त्री खतिवडाले गर्दै आएका छन् । त्यसैले उनी सांसदहरूको आलोचनाको केन्द्रमा परेका हुन् ।
सांसद लामाले मन्त्रीद्वय खतिवडा र पोखरेलले उक्त योजनाका लागि संसदमा आत्मआलोचनासहित माफी माग्नुपर्ने बताउनुभएको छ । ‘त्यो नीति नेकपाको विचारधारा विपरीत छ । शिक्षा र अर्थमन्त्रीले संसदमा आत्मा आलोचनासहित माफी माग्नुपर्छ,’ उहाँले सरकारलाई प्रश्न गर्नुभयो, ‘नेकपाको समाजवादको शिक्षानीति यहिँ हो ?’ यो नीति मूला रोपेर आलु फलाउने भनेर दिएको गफजस्तो भएको लामाको टिप्पणी थियो ।
लाखौं विद्यार्थी एसईई परीक्षा र कक्षा कहिले संचालन होलान् भनेर निराश हुँदै कुरिरहेको अवस्थामा बजेटले त्यसबारे केही कुरा उल्लेख नगरेको उहाँको भनाइ थियो ।
बजेटबारे लामाको टिप्पणी थियो, ‘नेपालको संविधानले समाजवाद स्थापना गर्ने भनिराख्दा, चुनावी घोषणापत्र स्मरण गरिराख्दा यो बजेट दुवै कोणबाट च्युत भएको देखिन्छ ।’ संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य भनेको तथा निजी क्षेत्रबाट संचालित शैक्षिक संस्थाहरूलाई नियमन गर्ने एवं सेवामुखी बनाउने भनिरहेका बेला शिक्षाबारे बजेटले लिएको नीति सही नभएको बताउनुभयो ।
केही नयाँ विश्वविद्यालय स्थापना गर्ने घोषणा सही भएको तर भएका विश्वविद्यालयलाई कसरी राम्रो बनाउने भन्ने नीति नभएको उहाँले बताउनुभयो ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले भारत, चीन र अमेरिका बाहेकका देशमा राजदूतावास नराखेर खर्च कटौती गर्नु सुझाव दिनुभएको छ । विभिन्न मन्त्रालयमा विनियोजित बजेटमाथि प्रतिनिधिसभामा आज भएको छलफलमा गिरीले यस्तो बताउनुभएको हो ।
उनले भन्नुभयो, ‘हाम्रो देशलाई काम लाग्ने देश मन पराए पनि नपराए पनि हिन्दुस्तान हो, चीन हो, अमेरिका हो । बाँकी मुलुकमा कुनै समय राजालाई हर सयरैपिच्छे दरवार चाहिए जस्तै, अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन । सानो ब्रसेल्सले सिंगो युरोप चलाउन सक्छ । साउदी अरेबियामा मजदूर जान्छन ठीक छ । त्यो खर्च कटौती गर्नुहोस् ।‘
बजेट विनियोजनको यो तरिकाले वर्तमान सरकारको दर्शन स्पष्ट भएको उहाँले बताउनुभयो । ‘समस्यामा परेका श्रमिकका लागि ११८ लाख छुट्याइएको छ । श्रमिकका आँशु र श्रमले हामी समेत तलब भत्ता खाँदैछौं ।’ उहाँले भन्नुभयो ।
समस्यामा परेका श्रमिकको उद्धारको लागि भन्दा बढी रकम अष्ट्रेलियाको दूतावास बनाउन छुट्याइएको भन्दै आपत्ति जनाउनुभयो । राजदूतावासहरु सरकारी मापदण्ड अनुसार नचलिरहेको समेत बताउनुभयो ।