रामसार क्षेत्रमा सुचिकृत इलामको माइपोखरीमा पूर्वाधार निर्माणको कामले तिब्रता पायो

रामसार क्षेत्रमा सुचिकृत इलामको माइपोखरीमा पूर्वाधार निर्माणको कामले तिब्रता पायो


२३ जेष्ठ, इलाम । रामसार क्षेत्रमा सुचिकृत पूर्वी पहाड इलामको माईपाखेरीमा पर्यटन पूर्वाधार निर्माणको कामले तिब्रता पाएको छ । सन् २००८ मा माइपोखरी विश्व रामसार सुचीमा सुचिकृत भएको थियो । रामसार क्षेत्रमा सुचिकृत भएपछि ५ वर्षे गुरुयोजना बनाइएपनि आर्थिक श्रोत अभावले कार्यान्वयन हुन सकेको थिएन ।

तर संघीय सरकारले घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषणा गरेपछि पूर्वाधार र संरक्षणको कामका लागि बजेट प्रदान गरेसँगै अहिले पर्यटन पूर्वाधार र संरक्षणका काम धमाधम भइरहेको छ । सदरमुकाम इलाम बजारबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्रमा अहिले पर्यटकहरुको आकर्षण केन्द्र बनाउन पूर्वाधार निर्माण र जैविक विविधताको संरक्षणको काम गरिँदै आएको छ ।

सन्दकपुर गाउँपालिकाले माईपोखरीलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन चालु आर्थिक वर्षमा डिपिआर तयार पारेको थियो । डिपिआरको आधारमा संघीय सरकारको पर्यटन मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भई पर्यटन पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष उदयबहादूर राईले बताउनुभयो । बहुवर्षे योजनामा स्वीकृत भएपछि संघीय सरकारले माईपोखरी क्षेत्रको जोरपोखरी पर्यटकीय पूर्वाधार विकास आयोजनाको नाममा बजेट विनियोजन गर्दै आएको छ ।

धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात रहेका माईपोखरीमा चालु आर्थिक वर्षबाट स–सना पोखरीको मुहान संरक्षणसँगै लोपउन्मुख वन्यजन्तु ठकठकेको संरक्षणको काम सुरु गरिने छ ।

पोखरीको जलासय क्षेत्र वरिपरि रहेका २ वटा स–सना पोखरीहरुको संरक्षण गर्ने, आकासे पुल निर्माण गर्ने, कफि सप, सार्वजनीक शौचालय, रेलिङ्ग र दुई पोखरीको बिचमा झोलुङ्गे पुल सहितको पदमार्ग बनाउने योजना डिपिआरमा समेटिएको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताउनुभयो ।

रामसार क्षेत्रमा रहेका पोखरीलाई चालु आर्थिक वर्षमा जोड्न ड्याम निर्माण गर्ने काम भइरहको उपभोक्ता समितिका सचिव दिनेश ढकालले बताउनुभयो । जलायस क्षेत्रको नजिक जैविक विविधताको महत्वका कारण पूर्वाधार निर्माणको काम उपभोक्ताबाट हुँदै आएको छ ।

स्थानीय सरकारको पहल र संघीय सरकारको समन्वयमा बनाइएको डिपिआर अनुसार साढे सात करोडका संरचना निर्माण गर्ने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत महेश राइले बताउनुभयो । आर्थिक वर्ष २०७७÷०७८ मा संघीय सरकारसँग डिपिआर अनुसारको बजेट माग गरिएको र दुई वर्ष भित्रमा घुम्नै पर्ने आकर्षक पर्यटकीयस्थल बनाउन पूर्वाधार निर्माणको काम थालिएको राईको भनाइ छ ।
साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माइपोखरी पुग्ने धार्मिक पर्यटकहरुले चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गर्दै आएका छन् । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।

२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको अवलोकन गर्न असंख्य पर्यटक वर्षेनी पुग्ने गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर