
२४ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्तावसहित छलफल भइरहेको छ ।
छलफलमा सांसद दुर्गा पौडेल, डा. मीनेन्द्र रिजाल, प्रेम सुवाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबुकुमार यादव, डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधारी र पद्मनारायण चौधरीसहित १२ जनाले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ ।

कर्च कटौतीको बारेमा बाल्दै नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारमा राजस्व उठाउन सक्ने योजना र क्षमता नभएको बताउनुभयो ।
सांसद रिजालले सरकारसँग पूँजीगत खर्च गर्ने क्षमता पनि नभएको र इमाान्दारिता पनि देखाउन नसकेको आरोप लगाउनुभयो ।
उहाँले विदेशमा जनताका कोरोना भाइरस संक्रमणपछि अलपत्र परेको बताउँदै उनीहरुको उद्धारमा ध्यान नदिएर सरकारले कार्पेट किन्न थालेको उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभामा बोल्दै उहाँले अर्थमन्त्रालयको चालू खर्च २५ अर्बबाट घटाएर गत बर्षझै ८ अर्बमा राखियोस भन्ने खर्च कतौटी प्रस्ताव गर्नुभएको छ ।
बैठकका प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ २० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको ‘प्रमाण ऐन’, २०३१ लाई संशोधन गर्न बनेको विधेयकबारे सदनमा जानकारी गराउनुभएको थियो । सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भई संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उक्त विधेयक प्रमाणीकरण भएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७