२३ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधि सभामा ‘भारतीय चेली’ शब्द प्रयोग गरिएको विषयमा विवाद भएको छ ।
नेकपाकी सांसद गंगा चौधरीले गत जेष्ठ १९ गते संसदमा समेत भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गर्नुभएको थियो ।
बैठकका बोल्दै उहाँले नयाँ नक्सा जारी गर्ने विषयमा अरु कसैलाई सोध्नु नपर्ने तर्क गर्नुभएको थियो । मन र विचार अशुद्ध हुनेहरूलाई मन्तव्य, अन्तर्वार्ता लेखबाट पनि जनताले पहिचान गर्न थालेको बताउनुभएको थियो । यद्यपी उहाँले कुनै सांसदको नाम भने लिनुभएको थिएन ।
सोही विषयलाई लिएर समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय मागेर बोल्दै उहाँले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको भन्दै रेकर्डबाट हटाउन माग गर्नुभएको हो । उहाँले मन्तव्यमा प्रयोग गरिएको शब्दहरुले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै सो मन्तव्य संसदीय रेकर्डबाट हटाउन पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सो अभिव्यक्तिलाई आधारमानेर कानुनी कारवाही अघि बढाउन सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले नाम उल्लेख नगरिकन सांसद गिरीले ती सांसदले दिएको अभिव्यक्तिलार्ई “घृणाको मन्तव्य” को संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयोः ‘जेष्ठ १९ गतेको दिन म संसदमा अनुपस्थित थिएँ । मेरो अनुपस्थितिमा संसदका एक माननीयजी ले जुन मन्तव्य दिनुभयो त्यसलाई घृणाका मन्तव्य भनिन्छ । अंग्रेजीमा यसलाई हेटस्पीच भनिन्छ । किन कि उहाँले रगत उम्लने कुरा गर्नुभयो । मेरो पदको मर्यादा नभएको भए मैले भौतिक रुपमा पनि आर्कमण गर्न सक्थेँ साथै भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गरेको भन्नुभयो । म त्यस्तो भाषा प्रयोग गर्दिन । म प्रेमपूर्ण ढंगल आफ्नो भनाइ राख्छु । म प्रेम, सद्भावका साथ यो आग्रह गर्न चाहन्छु कि यो मन्तव्यको रेकर्ड गरी नेपालको कानुन अनुसार हेट स्पीच कानुनी कारवाहीका लागि पर्याप्त हुन्छ । त्यसैले कानुनी प्रक्रिया अघि बढाउन म सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’