२३ जेष्ठ, झापा । झापाको सिमावर्ती क्षेत्रमा नेपाली सेना परिचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा हिजो बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कचनकवल र मेचीनगरमा सेना परिचालन गर्ने निर्णय गरेको हो ।
कचनकवल गाउँपालिकाको सुकुनाडिगीमा र मेचीनगर नगरपालिकाको काँकडभिट्टामा नेपाली सेनाको अस्थायी पोस्ट खडा गर्ने निर्णय भएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कचनकवलको सुनुकनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा मा.वि.को क्वारेनटाइनको व्यवस्थापन र काँकडभिट्टा नाकामा दुवै देशका नागरिकलाई आवतजावतमा सहजीकरण गर्ने उद्देश्यले नेपाली सेना राख्न लागेको बताउनुभयो ।
कचनकवल गाउँपालिकामा प्रदेश एककै सबै भन्दा बढी १ सय ३ जना कोरोना सङ्क्रमित भेटिएका छन् । उता काँकडभिट्टाबाट दैनिक सयौँ सङ्ख्यामा नेपाली र भारतीय नागरिक आआफ्नो देश फर्किरहेका छन् ।
यसअघि कलवलगुरी प्रशिक्षक केन्द्र भद्रपुर, मेची बहूमुखी क्याम्पस भद्रपुर र कञ्चनजंघा हेल्थ इन्स्टिच्युट एन्ड नर्सिङ कलेज बिर्तामोडको क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ ।