१८ जेष्ठ, काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।
आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पठनपाठन सुचारु गर्न आव्हान गर्नुभएको हो । शिक्षा मन्त्रालयबाट हालै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरिएको उल्लेख गर्दै सो बमोजिम कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सम्वद्ध सबै निकाय तथा सरोकारवालाहरुलाई आव्हान गर्नुभएको छ ।
विद्यालय तथा शैक्षिक संस्था तत्काल खोल्न अनुमति नदिइएपछि दुर शिक्षा तथा खुल्ला शिक्षालगायत वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्न सकिने मन्त्री पोखरेलले विज्ञप्तिमा भन्नुभएको छ ।
‘विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जनना गर्नका लागि दुर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न निर्देशिका जारी गरिएको छ,’ मन्त्री पोखरेलले विज्ञप्तिमा भन्नुभएको छ, ‘सो निर्देशिकालाई यही २०७७ साल आषढ १ गतेबाट कार्यान्वयन गर्न, गराउन संघ, प्रदेशर स्थानीय तहका सम्बद्ध सबै निकायहरु तथा सरोकारवाला सबैलाई हार्दिक आव्हान गर्दछु ।’
यसैगरी विज्ञप्तिमा कोभिड–१९ को महामारीको कारणले स्थगन भएका विद्यालय तहका परीक्षाहरुका सम्बन्धमा उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय लागिपरहेको समेत जानकारी गराउनुभएको छ ।
योसँगै कतिपय निजी विद्यालयहरुले अनलाइन तथा दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउँदै आएकोमा निरन्तरता पाउने भएको छ । तर, असारभित्र पनि विद्यालय तथा शैक्षिक संस्थाहरु खोलने अवस्था नदेखिएको बुझिएको छ । साउनबाट भने सरकारले खोल्ने या नखोल्ने गरी निर्णय दिने विश्वस्त स्रोतले जानकारी दिएको छ ।
यसैवीच बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरेको दावी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढिकरण निम्ती गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत गरिने गरि परिचालन गरिनेछ ।’
मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण सबैको साझा दायित्व भएको पनि बताउनुभएको छ ।
तर मन्त्री पोखरेलले नीजि विद्यालयहरुले यही जेठ २१ देखि भर्ना सञ्चालन गर्ने घोषणा गरेपनि मौन समर्थन जनाउनुभएको छ । जबकी विद्यार्थी संगठनले त्यसको विरोध गरिरहेका छन् ।