१७ जेष्ठ, काठमाण्डौँ । सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) घुसाइएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बढेको छ । ९ सदस्सीय नेकपाभित्र बहुमत सदस्य एमसीसीको विपक्षमा रहेका छन् ।
पार्टीभित्रै विवादित बनेको एमसीसीबारे कुनै छलफल नगरी बजेटमा समावेश गरेको भन्दै एमसीसीको विपक्षमा रहेका सचिवालय सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् ।
एमसीसी मुलुकको हितमा नरहेको र कुनैपनि बाहनामा त्यसलाई नेपालमा भित्र्याउन दिन नहुने तर्क उनीहरुको छ ।
पार्टीभित्र विवाद रहकै सन्दर्भमा एमसीसी बजेटमा घुसाइएप्रति आपत्ति जनाउँदै वरिष्ठ नेता झलनाथ खनालले आजको सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने बताउनुभयो । उहाँले बजेटमा एमसीसीको कुरा जोडेको प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरिने समेत बताउनुभयो ।
एमसीसीबारे ब्याक नभए पुनः ओलीविरुद्ध मोर्चाबन्दीको तयारी समेत पार्टीभित्र सुरु भएको छ ।
त्यसका लागि असन्तुष्ट नेताहरुबीच अनौपचारिक छलफल सुरु भइसकेको एक नेताले बताए । ९ सदस्सीय सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलमात्रै एमसीसीको पक्षमा रहेको बताइन्छ ।
बजेटमा एमसीसी घुसाइएको बारे नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले समेत शुक्रबारको भेटमा प्रधानमन्त्रीसँग असन्तुष्टि जनाएको बताइएको छ ।
नेकपामा भैंसेपाटीमा बनेको गुट ब्युँतियोः
बजेटमा एमसीसी घुसाएपछि हिजो अपरान्ह अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेताहरुले जुम बैठक गरेका थिए । विश्वस्त स्रोतका अनुसार उपाध्यक्ष बामदेव गौतमले जुम बैठकको व्यवस्था गरेका थिए । गौतमसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका अलावा प्रवक्ता नारायणकाजी श्रेष्ठ जुम बैठकमा सहभागी भएका थिए । उनीहरुले सरकारको कार्यशैलीको समिक्षा गरेको बुझिएको छ ।
सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशका बेलामा ओलीविरुद्ध बनेको गुट फेरि ब्युँतिएको छ । सचिवालयका यीनै पाँचजना त्यतिबेला ओली हटाउन सम्मको निर्णयमा पुगेर लागेपनि आपसी मतभेदका कारण असफल भएका थिए । बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएर ओलीले गुट भत्काइदिएका थिए । तर, ओलीको कार्यशैलीप्रति स्वयं गौतम निकै असन्तुष्ट बनेपछि अब चाहिं नटुट्े गरी एकता गरेर जाऔं भन्दै पाँच जनाको बैठक डाकेका थिए ।
एमसीसीबारे ओली इतरका नेताहरु विरोधमा छन् । उनीहरुले संसदबाट एमसीसी पारित गर्न केही विषयमा संशोधन हुनुपर्ने अडान राखेका छन् । तर, यही विषय बजेटमा घुसाएपछि बजेट नै पारित हुन नदिने गरी नेकपाका ओली इतरका नेताहरु सक्रिय भएका छन् ।
अहिले शुरु भएको सचिवालय बैठकमा एमसीसी बजेटमा घुसाइएको विषयका अलावा नक्शा संसदमा छलफलका लागि पेश गर्न गरिएको ढिलाई, लकडाउनको समिक्षालगायतमा छलफल हुने बुझिएको छ । आज ओलीमाथि उनीइतरका नेताहरु आक्रामक ढंगले प्रस्तुत हुने तयारीका साथ बालुवाटार पुगेका छन् ।
विश्वस्त स्रोतका अनुसार ओली इतरका नेताहरुले सरकार ढाल्न फेरि नयाँ अस्त्र तयार गरेका छन् । यसपटकको अस्त्र एमसीसीलगायतको हुने बुझिएको छ । ओली सरकारमाथि एकैपटक धेरैवटा अस्त्र प्रहार गर्ने गरी नेकपाभित्रका ओली इतरको गुट पूर्ण तयारीका साथ बढेको छ ।