१५ जेष्ठ, सेलुखुम्बु । प्रदेश–१ को पहाडी जिल्ला सोलुखुम्बमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार(आज) जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेश–१ को ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । अहिले सम्म प्रदेश भरीमा संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमित युवकलाई विराटनगर स्थित कोशी अस्पताल (कोभिड १९ उपचार केन्द्र) पठाइएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाङगेल जाङ्बु शेर्पाले बताउनुभयो ।
नगरप्रमुख शेर्पाका अनुसार संक्रमण पुष्टि भएका युवक लकडाउन सुरु भए यता घरमा नै बसिरहेका थिए । उनलाई कहाँबाट, कसरी कोरोना सर्याे भन्ने खुलेको छैन । ‘संक्रमित युवकको ट्राभल हिस्ट्री छैन’ उहाँले भन्नुभयो–‘लकडाउनअघि छिमेकी पालिकाबाट घर आएर बसेका हुन् बाहिर गएको देखिदैन ।’
उनलाई कसरी संक्रमण भयो भन्ने खोजी भइरहेको प्रमुख शेर्पाले बताउनुभयो । उहाँका अनुसार युवकको दोस्रो पटक नमुना संकलन गरेर हेर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको हो । परीक्षण गर्दा मानवीय क्रुटी पनि भएको हुन सक्ने शेर्पाको भनाई छ ।