१५ जेष्ठ, झापा । झापाको कचनकवल गाउँपालिकामा भेटिएका ४८ जना कोरोना संक्रमित व्यक्तिहरु सबै भारतबाट आएको पाईएको छ । रोजगारीको क्रममा भारतको विभिन्न स्थानहरुमा कार्यरत उनिहरु रेल सेवा सुचारु भए लगत्तै केही साता अघि मात्र नेपाल प्रवेश गरेका थिए ।
हिजो बुधबारबार मात्र झापामा १७ जना कोरोना सङ्क्रमित पुष्टि भएसँगै कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ४८ पुगेको हो । यसअघि कचनकवलमा ३३ जना कोरोना सङ्क्रमित भेटिएकोमा हिजो १५ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
योसँगै झापामा सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ । दुई जना उपचारपछि घर फर्किसकेका छन् । भने प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या १०४ पुगेको छ ।
प्रदेश एकको संख्यामध्ये आधा भन्दा बढी झापाकै रहेका छन् । जिल्लाको गौरादह नगरपालिकामा हिजो दुई जना नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् । बाह्रदशी गाउँपालिकामा दुई, झापा गाउँपालिका र दमक नगरपालिका एकर एक जना सङ्क्रमित भेटिएको थियो । त्यसमध्ये बाह्रदशी र दमकका एकर एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
कचनकवलमा हिजो कोरोना संक्रमण पुष्टि भएका १५ जना भारतको मुम्बई, दिल्ली, गुजरात, अलिगढ भन्ने स्थानबाट आएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्क्रमित सबै जना गाउँपालिका– ५ स्थित जानकी आधारभूत विद्यालयको क्वारेनटाइनमा बसेका थिए । सङ्क्रमित हुनेमध्ये वडा नम्बर ५ का १३ जना, वडा नम्बर ६ र ७ का एकर एक जना रहेको छ । उनीहरूको उमेर समूह १९ देखि ५७ वर्षसम्मका हुन् । गाउँपालिकाले आइतबार स्वास्थ्यकर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र क्वारेनटाइनमा बसेकाहरू गरी १६२ जनाको स्वाब सङ्कलन गरी पिसीआरका लागि विराटनगर पठाएको थियो ।
भारतबाट आउने सबै जनालाई सुरक्षित रूपमा क्वारेनटाइनमा लगेर राखिएकोले गाउँघरमा संक्रमण फैलिन नपाएको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिनुभयो । गाउँपालिका भारतबाट साढे ३ सय बढी गाउँबासी फर्किसकेका छन्, अरू पनि आउने क्रममा रहेको छ । आउने सबैलाई क्वारेनटाइनमा राखिने उहाँले बताउनुभयो । गाउँपालिकाले संक्रमण रोक्न जेष्ठ १६ गते सम्म पुरै गाउँपालिकाले सिल गरेको छ ।