१२ जेष्ठ, काठमाण्डौँ । आज थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया–१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरूष, काठमाडौं– १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । यसअघि आज बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए ।
अहिलेसम्म १ सय ११ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
यस्तैगरी देशमा चौंथो व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । ४ जेष्ठमा मृत्यु भएका वृद्धको पछि कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराका ७० वर्षीय वृद्धको मृत्यु भइसकेको र उनको स्वाब परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । वृद्धलाई जेष्ठ २ गते अस्पतालमा भर्ना गरिएको र ३ जेठमा स्वाब परीक्षण गरिएको थियो । स्वाब पुनः परीक्षण गर्दा टेकुमा संक्रमण पुष्टि भएको थियो ।
संक्रमित व्यक्तिको दाहसंस्कार समेत भइसकेको छ । वृद्धसँग सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गरिएकोमा नेगेटिभ नतिजा आएको बताईएको छ ।
यसअघि तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।