११ जेष्ठ, झापा । विभिन्न सञ्चारमाध्यममा आवद्ध झापाका पत्रकारहरुमा कोरोना भाइरस संक्रमणको आशंकामा गत बुधबार गरिएको पीसीआर परीक्षणको परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
महामारी संक्रमणको उच्च जोखिममा पत्रकारहरु पनि रहेको भन्दै उनिहरुको स्वास्थ्य परिक्षण गरिएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिनुभयो ।
महामारीको समयमा पनि फिल्डमा गएर रिपोर्टिङ गर्नु पर्ने भएपछि पत्रकारहरुको स्वास्थ्यलाई ख्याल गरेर झापाका विभिन्न सञ्चारमाध्यममा आवद्ध २५ जना पत्रकारहरुको पीसीआर विधिवाट स्वाब संकलन गरिएको थियो । परीक्षण गरिएको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो ।
नेपाल पत्रकार महासंघ झापाको पहलमा सामाजिक बिकास मन्त्रालयको सहयोगमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरका स्वास्थ्यकर्मीले पत्रकारहरुको कोरोना परिक्षणका लागि थ्रोट स्वाब संकलन गरेको र थ्रोट स्वाबको नमुना दिएका सबै पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ आएको महासंघका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
अन्य जिल्लामा पत्रकारलाई पनि कोरोना संक्रमण देखिएकाले झापाका पत्रकारहरुको स्वास्थ्य अवस्थालाई ख्याल गरेर स्वाव संकलन गरिएको महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले बताउनुभयो ।
पीसीआर परीक्षण गरिएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएपछि तनावमुक्त भई कार्यक्षेत्रमा खट्ने पत्रकारहरुले वताएका छन् ।