
१० जेष्ठ, काठमाण्डौँ । शनिबार(आज) फेरि थप ३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।
यसअघि आज बिहान पनि ३२ जना कोरोना संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसँगै एकैदिन आज ६८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
उता भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ ।
भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब सङ्कलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।
प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ आएपछि आज बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७