रुपन्देही र कपिलवस्तुमा थप १३ जना कोरोना संक्रमित, गुल्मीमा एकको मृत्यु

रुपन्देही र कपिलवस्तुमा थप १३ जना कोरोना संक्रमित, गुल्मीमा एकको मृत्यु

७ जेष्ठ, भैरहवा । आज रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्ति हुन् ।

रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।

यता नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ । गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिनुभएको छ ।

‘१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको । थप कुरा बुझ्ने काम भइरहेको छ’ मन्त्री बरालले भन्नुभयो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

मन्त्री बरालका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो ।

गुल्मीको मदाने गाउँपालिका पुर्काेट घर भएका उनी गत जेष्ठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए ।भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो ।

मृतक पेशाले शिक्षक थिए । उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ ।

नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो । जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर