३ जेष्ठ, झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाउनुभएको छ ।
२७ औँ मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा आज वक्तव्य जारी गरी उहाँहरुले सरकार गठनका दुई वर्ष र पार्टी एकतापछिका अवस्थाहरुको विश्लेषण गर्दै वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयास गरेको उल्लेख गर्नुभएको छ ।
“थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । प्राप्त यस ऐतिहासिक एवं दुर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको छ”, वक्तव्यमा भनिएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जिप दुर्घटनामा परी तत्कालीन नेकपा ९एमाले० का महासचिव जननेता मदन भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
मदन–आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक दुई वर्ष अगाडि विसं २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टीको एकीकरण भएको थियो ।
दिवङ्गत भण्डारीले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पुर्याउनुभएको उल्लेख गर्दै वक्तव्यमा लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतालाई आत्मसात गर्दै कम्युनिस्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थितिअनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हितको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक सङ्घर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको स्मरण गर्नुभएको छ ।
उक्त घटनाको रहस्य अझै उद्घाटित हुननसकेको र आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नरहेको भन्दै विज्ञप्तिमा नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिने गरेको जनाइएको छ ।
“माक्र्सवाद–लेनिनवादको मार्गदर्शन, नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तात्कालिक कार्यक्रम जनताको जनवादजस्ता विषयले पार्टी एकताको वैचारिक, राजनीतिक जग निर्माण गरेका छन् ।
स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका सङ्घर्षहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यो पार्टी आज जनादेश प्राप्त गरेर राज्य सञ्चालनको केन्द्रीय भूमिकामा स्थापित भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
“आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिहरू हासिल भएका छन् ।
यो पार्टी संविधानको सर्वाेच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ ”, विज्ञप्तिमा भनिएको छ ।
मदन आश्रीत हत्याकाण्ड अझै रहस्यमयः
आजभन्दा २७ वर्ष अघि २०५० जेठ ३ गते तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमयी जीप दुर्घटनामा मृत्यु भयो । उनको मृत्युलाई तत्कालिन नेकपा एमालेका प्रभावशाली नेताहरुले हत्याकाण्ड भने । यसको पुष्टि हुन सकेको छैन ।
मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी देशको राष्ट्रपति छिन् । मदनको बहुदलीय जनवादको विरासत थामेको दाबी गर्दै आएका केपी शर्मा ओली देशको प्रधानमन्त्री छन् । तर, अझैपनि यो घटनाको रहस्य खुलेको छैन ।
मदन भण्डारी र जीवराज आश्रित चढेको जीपका चालक अमर लामा घटनामा बाँच्न सफल भएका थिए । उनलाई जेल पनि हालियो । तर, घटनाको रहस्य खुल्न सकेन । घटनाका एकमात्र साक्षी अमर लामा पनि मारिए । उनको हत्या रहस्यम भयो । हत्यामा संलग्नहरु पक्राउ पर्नु त कता हो कता पहिचान समेत हुन सकेन । यसले झनै घटनालाई रहस्मय बनायो ।
तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको रहस्यमयी निधन भएको दासढुङ्गा दुर्घटनाकाण्डका एक मात्र साक्षी थिए अमर लामा । उनलाई पनि अन्ततः मारियो । दासढुङ्गा घटनाको दश वर्षपछि २०६० साउन १२ गते राजधानीमा लामाको हत्या भएको थियो ।