२ जेष्ठ, काठमाण्डौँ । नेपाल सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको हो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकोले त्यसलाई प्राप्त गर्न सरकारले ठोस पहल गर्ने पनि उहाँले बताउनुभएको छ । उहाँले सम्बोधनका क्रममा भन्नुभएको छः ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको हो, त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ ।’
उहाँले छुटेको नेपाली भूमिसमेत समेटेर नेपालको नक्शा जारी गरिने स्पष्ट पार्नुभयो ।
सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत उहाँले बताउनुभयो ।
यस्तै उहाँले सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गनुभएको छ । त्यसका लागि प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताउनुभएको हो ।
नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा–ईनरुवा–खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ । पूर्व–पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।