१ जेष्ठ, झापा । झापामा अहिलेसम्म एक हजार ६ सय १७ जनाको कोरोना परिक्षण गरिएको छ । र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पिसिआर) दुबै विधिबाट कोरोना संक्रमण भएनभएको थाहा पाउन स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका जीवन चौम्लागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिकाङ्स जसो विदेशबाट भर्खेरै घर आएकाहरुको कोरोना परिक्षण गरिएको छ । हालसम्म चार सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । त्यसमा एक सय ४० जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।
नेपालमा कोरोना भाइरसका विरामी बढिरहेका बेला झापाको दमक र बाह्रदशीमा कोरोना संक्रमित फेला परेसंगै स्वास्थ्य परीक्षणलाई तिब्रता दिईएको चौम्लागाईले बताउनुभयो ।
उहाँका अनुसार दुई जनाको रिपोर्ट पोजेटिभ आए पनि बाह्रदशीका ब्यक्ति निको भएर घर फर्कि सकेका छन् । यता दमकका कोरोना संक्रमितको भने विराटनगरस्थित कोशी कोरोना अस्पतालमा उपचाररत रहेका छन् ।
रिपोर्ट आउँन बाँकी एक सय ४० जनालाई होम क्वारेन्टाइनमा राखिएको र उच्च निगरानी भइरहेको चौम्लागाईले जानकारी दिनुभयो । उनीहरुको रिपोर्ट आगामी तीन दिनभित्रमा आउँने बताइएको छ । कोशी अस्पतालमा कोरोना टेस्ट गर्ने किट सकिएकाले रिपोर्ट आउन ढिलाई भएको चौम्लागाईले वताउनुभयो ।