१ जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा ७ जना कोरोना संक्रमित थपिएको भने पनि जम्मा दुई जनामात्र नयाँ संक्रमित थपिएको पाइएको जनाएको छ ।
मन्त्रालयले आज बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको बताएको थियो । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको जनाएको थियो । तर, यी संक्रमितलाई मन्त्रालयले यसअघि नै गणना गरिसकेको थियो ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
प्रदेश ५ मा ९४, प्रदेश १ मा ३५, बागमतीमा ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने हालसम्म कोरोना मुक्त छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।
मन्त्रालयले प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जनाएको छ ।