३१ वैशाख, काठमाण्डौँ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।
भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो ।
बुधबार(आज) सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको बताईएको छ ।
नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेका थिए ।
दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको हो ।
‘जम्मा २५ जनालाई अहिले बीओपीमा राख्दैछौं, अरुलाई भोलि पठाउनेछौं’, सशस्त्र प्रहरीका एक अधिकृतले बताएका छन्, ‘बन्दोवस्तीका सामान पनि सबै पुगिसकेको छैन ।’
विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन ।
छाङ्रुमा भाडाको घरमा बीओपी स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।
लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने आज नै मानसरोवर सडक निर्माण लगायत सिमा अतिक्रमणको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको छ ।
बैठकमा लिपुलेकमा भारतले सीमा मिचेको विषयमा छलफल हुने बुझिएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने चारदलसहित पूर्व प्रधानमन्त्रीहरुलाई पनि बैठकमा बोलाएको बुझिएको छ ।