
३१ वैशाख, काठमाण्डौँ । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । आज विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो ।
मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो ।
यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्माेमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताएका छन् ।
‘यो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएका हो,’ ती अधिकारीले भने, ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले यो सामग्री प्रयोग गर्नेछ ।’
सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त गर्यो भन्ने खुलाइएको छैन ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि उक्त जहाजमा सैन्य सहायताका सामग्री रहेको जनाएको छ ।
‘चिनियाँ सेनाले गरेको सहयोगको काठमाडौं आएको हो । त्यसमा के–के सामान छ, हामी केहीबेरमा वक्तव्यमार्फत जानकारी दिन्छौं,’ दूतावासका एक अधिकारीले भनेका छन् ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७