३० वैशाख, काठमाण्डौँ । सरकारले जेठ १ देखि आवातजावतलाई थप कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले सम्बन्धित निकायलाई थप कडाइ गर्न निर्देशन दिएको छ ।
गएको तीन दिनमा लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो । ‘जेठ १ देखि यसअघि दिएको पास खारेज गरिएको छ’, गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अर्यालले भन्नुभएको छ, ‘एक जिल्लाबाट अर्काे जिल्लामा जान अनुमति लिएको पास गर्न खारेज गरिएको हो ।
यदि कोही बाहिर जान चाहे भने पनि मनासिब कारण देखाएर दुबै जिल्लाको अनुमति लिइनुपर्ने उहाँले बताउनुभयो ।
सरकारी कर्मचारीले सम्बन्धित मन्त्रालयको सचिवले जारी गरेको पासको आधार हिँड्डुल गर्न सक्नेछन् । ती पास पनि एक तिहाइ कर्मचारीलाई जारी गरिने छ ।
निजी संस्थाको हकमा नियामक निकायले जारी गरेको पासको आधारमा मात्र हिँड्न पाइने भएको छ । जस्तैः बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले जारी गरेको पासले मात्र हिँड्न पाइने छ, नेपाल टेलिकम वा एनटिसीका कर्मचारीलाई नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको पासले हिँड्न पाउँछन् । अत्यावश्यक सेवाका लागि कुनै प्रावधान लागू भएको छैन । सञ्चार माध्यमहरूले भने सूचना विभागका कार्ड प्रयोग गर्न सक्नेछन् ।
मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले आज दिउँसो यो निर्णय गरेको हो । आज मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।