२७ वैशाख, काठमाण्डौँ । भारतले नेपाली भू–भाग दार्चुलाको लिपुलेक कालापानी हुँदै चीनको मानसरोवरसम्म जाने बाटो बनाएकोमा नेपाल सरकारले आपत्ती जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक उद्घाटन गरेको भोलिपल्ट अर्थात आज नेपाल सरकारले वक्तव्यमार्फत आपत्ति जनाएको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेकमा हिजो शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति भनिएको छ । सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित महाकाली नदी पूर्वको भूभाग नेपालको रहेको कुरा मन्त्रालयको विज्ञप्तीमा जनाईएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘सो क्षेत्र नेपालकै रहेको भन्ने कुरा बारम्बार दोरोर्याउँदै आएको हो । पछिल्लोपटक भारतले जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमि भारतमा गाभिएपछि गएको नोभेम्बर २० मा भारत सरकारलाई कूटनीतिक नोट पनि पठाइएको थियो ।’
नेपाली भूमिमा बाटो बनाउने भारतको एक तर्फी कार्यको विरोध गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘यसले दुई देशबीच प्रधानमन्त्री तहसहितमा भएका सहमतिको उल्लंघन गरेको छ । सीमा विवाद दुई देशबीचको वार्ताबाट समाधान गर्ने सहमतिविरुद्ध भारतले काम गरेको छ ।’
भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक। तस्विर: रासस।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा महाकाली नदी पूर्वक्षेत्र नेपाली भू–भाग रहेको सुगौली सन्धीमै प्रष्ट रहेको उल्लेख गरेको छ ।
सरकारले नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न पनि भारत सरकारलाई आग्रह गरेको छ ।
हिजो भारतीय रक्षा मन्त्रीले नेपाली भूमि हुँदै निर्माण गरिएको मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारूढ नेकपालगायत दलले पनि भारतले नेपालको भूमिमा सडक बनाउन नपाउने भन्दै विरोध गरेका छन् ।