
२३ वैशाख, काठमाण्डौँ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समिति बैठकले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कति दिन लकडाउन थप गर्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो । बिडारीले कोरोना रोक्नका लागि शसक्त भएर लाग्ने निर्णय भएको जानकारी पनि बताउनुभयो । सरकारले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको र यसबारे थप निर्णय भोली अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयोः ‘कोही पनि व्यक्ति र नागरिक हाम्रो मुलुकमा कोरोनाबाट मृत्युवरण गर्न नपरोस् भनेर अहिले अख्तियार गरेको नितिलाई प्रभावकारी र सशक्त वनाउने विषयमा छलफल भएको छ’
उहाँका अनुसार सरकारले कोरोना नियन्त्रणका लागि लिएको बाटो सही भएको पनि बैठकले निश्कर्ष निकालेको छ ।
सरकारले गत चैत्र ११ देखि लागू गरेको लकडाउनको समयावधि आउदो बिहीबार मध्यरातिदेखि सकिँदै छ ।
हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७