२२ वैशाख, सुनसरी । नगरपालिकाले राहतकालागि खरिद गरेको चालम मिश्रित र कमसल पाईएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।
लकडाउनको समयमा विपन्न नागरिकहरूलाई राहत वितरण गर्न भनेर खरिद गरिएका खाद्यान्न (चामल)मा मिश्रण पाईएको नगर प्रमुख जयप्रकास चौधरीले बताउनुभएको छ । एक विज्ञप्ति जारी गर्दे नगरप्रमुख चौधरीले छानबिन प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ ।
नगरपालिकाले झुम्कास्थित गृहलक्ष्मी राइस मिलसँग गे्रडिङ मन्सूली चालम खरिदकालागि सम्झौता गरेको थियो । सम्झौतामा उल्लेख गरिएको जस्तो चामल नरहेको भन्दै गुणस्तरका विषयमा छानबिन सुरु गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
‘राहतको चामल नै न्यून गुणस्तर भएको गुनासोका आधारमा छानविन सुरु गरिएको हो ।’ नगर प्रमुख चौधरीले भन्नुभयोः ‘सप्लायर्सबाट के कस्तो चामल आपूर्ति भएको हो, त्यो विषयमा छानबिन चलिरहेको छ ।’
तर नगरपालिकाकी उपप्रमुख सविना चौधरीले भने राइस मिलसँग गरेको सम्झौता अनुसारको नै चामल आएको बताउनुहुन्छ । ‘ससाना प्याक बनाएका कारण राहत प्राप्त गर्नेहरूलाई शंका लागेको हुन सक्छ ।’ उहाँले भन्नुभयो ।
केही दिन अगाडी नगरपालिकाले उक्त चामल राहत स्वरुप नगरका विपन्न परिवारलाई वितरण गरेको थियो । स्थानियले उक्त राहत चामल मिश्रित र गुणस्तरहिन रहेको चन्दै गुनासो गरेका थिए ।