२१ वैशाख, काठमाण्डौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण आजसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११ र साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा मात्र १२, कोलोराडोमा दुई र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।
यस्तै संयुक्त अरब इमिरेट्स (युएइ)मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एक–एक जनाको ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।
डासापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ ।
यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले गैरआवासीय नेपालीलाई कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गर्नुभएको छ ।
विश्वका २७ मुलुका नेपाली कोरोनाबाट संक्रमित छन् ।