२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा गएराती आगलागी हुँदा सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति १० बजेदेखि लागेको आगो आज बिहान साढे ५ बजेतिरमात्र नियन्त्रणमा आएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिव ७ घण्टा पछि मात्र आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट करोडौँको क्षती भएको अनुमान गरिएको छ । तर क्षतिको एकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष जसो आगलागीका घटना हुने गरेको छ ।
गत ०७१ सालमा भएको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।