१९ वैशाख, झापा । झापाको मेचीनगरपालिकाले लकडाउन पालना नगर्ने विरुद्ध कडा रुपमा उत्रने निर्णय गरेको छ ।
अनुमति बिना र आधिकारीक पास बिना मेचिनगरमा प्रवेस गर्ने तथा लकडाउन पालना नगर्नेलाई अनिवार्य रुपमा १५ दिनको क्वारेटाइनमा राखिने भएको छ ।
नगर प्रमुख विमल आचार्यका अनुसार जुन वडामा लकडाउन पालना नगरी मान्छे हिड्छ वा पुग्छ त्यहि वडामा बनाईएको क्वारेन्टाइनमा उक्त ब्याक्तिलाई राखिने छ ।
अत्यावश्यक कामका लागि हिडेको भएपनि जानकारी र पास हुनु पर्ने जनाईएको छ । अनाधिकृत रुपमा नगर प्रवेश गर्ने र लकडाउनको पालना नगर्ने आफैले क्वारेन्टाइनको खर्च समेत बेहोर्नु पर्ने नगरपालिकाले निर्णय गरेको नगरप्रमुख आचार्यले बताउनुभयो ।
अहिलेसम्म नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको खर्च भने नगरपालिकाले नै बेहोर्दै आएको छ । नगरपालिकाले बाहिरबाट फलफुल तथा तरकारी र मासुजन्य पदार्थ ल्याउन पनि प्रतिबन्ध लगाएको छ । भारतसंग सिमा जोडिएको मेचीनगर कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले यस्तो निर्णय गरेको बताईएको छ ।