१८ वैशाख, सुनसरी । सुनसरीको गढी गाउँपालिकाको राहत वितरण प्रति नेपाल कम्यूनिष्ट पार्टी गढी गाउँलकमिटीले असन्तुष्टी व्यक्त गरेको छ ।
कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारले जारी गरेको लकडाउनमा गाउँपालिकाले गरेका गतिविधीहरु पारदर्शी नभएको साथै राहत वितरणमा राजनितीक प्रतिसोध लिएको भन्दै नेकपा गढी गाउँ कमिटीले आज प्रेश विज्ञप्ती जारी गरेको हो ।
गढी वासीहरुको जनजिवन निकै कष्टकर हुँदै गइरहेको समयमा स्थानिय सरकारले प्रभावकारी कदम चाल्न नसकेको सो विज्ञप्तीमा भनिएको छ । वडा पिच्छे फरक फरक राहत सामाग्री वितरण गरेको साथै राहत वितरण गर्दा राजनितीक प्रतिसोध लिएको जनाईएको छ ।
राहत सामाग्री गुनस्तरहीन तथा कम तौल भएको, कोरोना भाइरस सम्वन्धी जनचेतना प्रभावकारी रुपमा नगरिएको, स्वास्थ्य सामाग्रीहरु हालसम्म वितरण नगरेको, क्वारेन्टाइनको व्यवस्थापन राम्रो ढंगले नगरिएको, गाउँपालिका बाहिर भएका गाउँबासीहरुलाई व्यवस्थित रुपमा घर नल्याईएको, जेष्ठ नागरीकका लागी हालसम्म कुनै राहत प्याकेजको ब्यवस्था नगरिएको, विद्यार्थी किसानहरुका लागी उचित व्यवस्था नगरिएको, सरकारले जारी गरेको कोरोना भाइरस सम्वन्धि निर्देशिका विपरीत प्रहरीले स्थानिय साना खुद्रा ब्यापारी तथा कृषि उपज सामाग्रीहरु विक्रि वितरकलाई त्रसिद वनाउदा पनि स्थानिय सरकार मौन बसेको भन्दै नेकपा गाउँसमितीले प्रेश विज्ञप्ती जारी गर्दे स्थानिय सरकारको ध्यानाकर्षण गराएको छ ।