दमकबाट पिसिआर परिक्षणका लागि धरान पठाईएको सबैको रिपोर्ट ‘नेगेटिभ’

दमकबाट पिसिआर परिक्षणका लागि धरान पठाईएको सबैको रिपोर्ट ‘नेगेटिभ’

१८ वैशाख, झापा । गत शुक्रबार झापा दमक–३ का एक ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टिभएपछि उनको सम्पर्कमा आएका ५४ जनामा गरिएको स्बाव परीक्षणमा कसैलाई पनि संक्रमण नभएको पाईएको छ ।

संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी चार दिन अघि पिसिआरका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको थियो । त्यहाँ पठाईएका सबैको थ्रोट स्वावको परीक्षणको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

पिसिआर परीक्षण पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शंकास्पद ३० जनाको गरिएको र गत बैशाख १२ गते ती वृद्धमा संक्रमण पुष्टिभएको थियो । संक्रमितलाई सोहि दिन नै विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका लागि पठाईएको छ ।

नगरपालिकाले संक्रमण देखिए लगत्तै संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरि गत आइतबार पिसिआर परीक्षण गरेको थियो । दमकमा हालसम्म ८४ जनाको पिसिआर र १५७ आरटीडी परीक्षण गरिएको मध्ये एक जनामामात्र संक्रमण पुष्टि भएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर खड्गलाल लिम्बुले वताउनुभयो ।

यस्तै गत बैशाख १३ गते संक्रमित क्षेत्र आसपास गरिएको निषेधित क्षेत्र हटाईएको नगरपालिकाले जनाएको छ । दमक ३ स्थित संक्रमण क्षेत्रमा कोरोना फैलिएको हुन सक्ने भन्दै नगरपालिकाले त्यस आसपास सिल गरि परीक्षण गरेको थियो ।

तर प्रयोगशालामा पठाइएको परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएपछि त्यहाँको घोषित सिल हटाइएको नगरपालिकाकी प्रवक्ता समेत रहनुभएकी उपमेयर गीता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर