१७ वैशाख, सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकाले वितरण गरेको राहत सामग्री मध्ये चामल प्लाष्टिकको भएको र गुणस्तरहिन भएको भ्रम फैलाइएको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज पालिकाले पत्रकार सम्मेलनगरि जारी गरिएको प्रेश विज्ञप्तीमा हरीनगरमा वितरण गरिएको चामल गुणस्तरीय रहेको बताईएको छ ।
हरिनगर गाउँपालिकाले वितरण गरेको राहत चामल गुणस्तरहिन रहेको भन्दै संञ्चार माध्यममा समाचार आएपछि स्थानियले राहत सामाग्री फिर्ता गरेका थिए । तर पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर कासीले भने राहतका रुपमा वितरीत चामलको बारेमा भ्रम मात्र फैलाईएको बताउनुभयो ।
बितरण गरिएको राहत सामाग्री चामल पूर्णरुपमा गुणस्तरीय रहेको र खान योग्य रहेको खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पुष्टि गरेको गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाँल बताउनुभयो । उहाँले हल्ला र भ्रमको पछि नलाग्न पनि स्थानियहरुहरुलाई आग्रह गर्नुभयो ।
अध्यक्ष अन्सारीका अनुसार वितरित चामल खाद्य संस्थान बिराटनगरबाट खरिद गरी बकाईदा ल्याब परीक्षण गरेरमात्र ल्याईएको हो । त्यसैले सो चामल गुणस्तरीय भएको उहाँले दाबी गर्नुभयो ।
‘वाड नम्बर–१ र २ मा वितरण गरिएको राहत चामल प्लाष्टिकको भन्ने हल्ला सुनेर हामी यथार्थ बुझ्न बिराटनगरको खाद्य ब्यवस्था तथा ब्यापार कम्पिन लिमिटेड र खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर गयौँ ।’ पत्रकार सम्मेलनमा अध्यक्ष अन्सारीले भन्नुभयोः ‘पुगेर सोधीखोजी गर्दा खाद्य प्रयोगशालाले गरेको परीक्षणमा प्लाष्टिकको अंश देखिएको छैन । चामल खान योग्य र गुणस्तरीय छ ।’
भ्रममा परेर स्थानियले चामल फिर्ता गरेकाले त्यसप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुहुदैँ अध्यक्ष मियाँले हल्लाको पछि नलाग्न सबैमा अपिल गर्नुभयो ।