१६ वैशाख, झापा । झापाको दमक नगरपालिकाले अत्यआवश्यकीय खाद्य सामाग्रिका पसलहरु दैनिक २ घण्टा खोल्न दिने निर्णय गरेको छ । हप्तामा दूईदिन खोल्दा झन् भिडभाड बढेको र जोखिम पैदा भएको भन्दै दैनिक १२ देखि २ बजेसम्म उपभोग्य खाद्य सामाग्रि पसलहरु खुल्ला गर्ने निर्णय गरेको हो ।
कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम दमक नगर समन्वय समितिका संयोजक एवं नगर प्रमुख रोमनाथ ओलीका अनुसार सामाजिक दुरी कायम राखेर दैनिक २ घण्टा अत्यावश्यकीय पसलहरु खुला रहनेछन् । औषधि लगायत सरकारले तोकेका अत्यावश्यकीय सेवा भने २४ सै घण्टा खुला रहने छ । त्यो बाहेका खाद्यन्न, ग्याँस, तरकारी लगायतका पसलहरु १२ देखि २ बजेसम्म दुई घण्टामात्र खुला रहन पाउनेछन् ।
यस अघि दमक नगरपालिकाले नगर हाताभित्र बुधबार र शनिवार दिउसो ३ घण्टामात्र पसल खोल्न पाउने निर्णय गरेको थियो ।
केहि दिनअघि मात्र दमकमा एकजना कोरोना संक्रमणको विरामी भेटिएकाले नगरको शुरक्षा ब्यवस्था अत्यन्त कडा बनाईएको छ । केहि शंकास्पदको स्वाब संकलन गरि परीक्षणका लागि धरान पठाईएको छ । नगरपालिकाले सम्भावित जोखिम न्यूनिकरणका लागि सामाजिक दुरी कायम गराउनका लागि आज यस्तो निर्णय गरेको बताईएको छ ।