१६ वैशाख, झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि झापाको दमक नगरपालिकामा हालसम्म ८४ जनाको पिसिआर परीक्षण गरिएको छ । चार दिनअघि दमक–३ का ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टिभएपछि संक्रमित क्षेत्रलाई सिल गरि संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको परिक्षण तीव्र पारिएको हो ।
यस अन्तगर्त पहिलो चरणमा शंकास्पद व्यक्तिहरुको आरडीटी परीक्षण गरिएको छ । त्यसका अलावा थ्रोट स्वावको नमुना संकलन गर्ने कार्य पनि पूरा भएको नगरपालिकाले जनाएको छ । संक्रमणको आशंका लागेका ८४ जनाको हाल सम्म पिसिआर परीक्षण गरिएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर खड्गलाल लिम्बुले बताउनुभयो ।
केही दिन अघि पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शंकास्पद ३० जनाको पिसिआर परीक्षण गरिएको थियो । त्यसमा ती वृद्धमा मात्र संक्रमण देखिएको थियो ।
संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका ५४ जना व्यक्तिहरुको समेत आइतबार आरडीटी परीक्षण तथा पिसिआरका लागि थ्रोट स्वाव संकलन गरि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको उहाँले वताउनुभयो । पिसिआर परीक्षणको रिपोर्ट आजसम्ममा आउने उहाँको भनाई छ ।
सुपरिटेन्डेट डाक्टर लिम्बुका अनुसार संक्रमण रोकथाम गर्न हालसम्म नगर भित्रका १५७ जनाको समेत आरटीडी परीक्षण गरिएको छ । यसैगरि हालसम्म दमक अस्पतालले सञ्चालन गरेको आइसुलेशनमा १३ जनाले सेवा पाउनुका साथै १ पुरुष र २ महिला गरि तीन जना उपचाररत रहेका छन् ।