१५ वैशाख, काठमाण्डौँ । लकडाउनलाई थप कडाइ साथ लागू गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
सोमबार(आज) मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो । फेरि आजदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
बीच बाटोमा पुगेका र बिचल्लीमा परेका मजदुर र नागरिकको उद्धार भइसकेको भन्दै लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।
हुलमुलका साथ यात्रा गर्दा कोभिड–१९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
सरकारले लकडाउन आउँदो वैशाख २५ गतेसम्म लम्ब्याएको छ । नेपालमा अहिलेसम्म ५२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ भने १६ जना उपचारपछि घर फर्किएका छन् ।