१४ वैशाख, झापा । नेपालसंग सिमा जोडिएको भारतको पश्चिम बंगालमा लकडाउनका कारण करिव २०० नेपाली अलपत्र परेका छन् । पश्चिम बंगालका गलगलिया, पानीट्याङ्की, नक्सलवाडी लगायतका क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल प्रवेशको प्रतिक्षामा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
सभापति ढकालका अनुसार कतिपय नेपालीहरु भारतीय क्वारेन्टाइनमा बसेका छन् भने, कतिपय आफन्त र अलपत्र अवस्थामा रहेका छन् । स्वदेश आउनका लागि १५० ले नाम टिपाईसकेका छन् भने अरु ५०/६० जना रहेको जानकारी आएको उहाँले बताउनुभयो । उनीहरुलाई स्वदेशमा ल्याउन पहल भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ । उहाँका अनुसार उनीहरुलाई नेपाल प्रवेशपछि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा १४ दिन राखिने छ । त्यसका लागि क्याम्पसमा क्वारेन्टाईन निर्माणको कार्य शुरु भईसकेको छ ।
पश्चिम बङ्गालमा अलपत्र परेका नेपालीहरुमा झापासहित इलाम, उदयपुर, कालिकोट, दैलेख, सुर्खेत, गोरखा, बाजुरा, डोटी, बाँके, कञ्चनपुर लगायत विभिन्न जिल्लाका रहेका छन् ।
यता झापा जिल्लामा हालसम्म ७९४ को दु्रत परीक्षण विधिबाट कोरोना परीक्षण गरिएको छ । तीमध्ये १०८ जनाको स्वाब, ७६१ जनाको आरडिटी, १०८ जनाको पिसीआर, ७५ जनाको आरडिटी र पिसीआर दुवै गरिएको जनाईएको छ । त्यसमा १ जनाको मात्र पिसिआर पोजिटिभ आएको छ भने चार जनाको आरडिटी पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिनुभयो ।
झापाका १५ स्थानीय तहले २७ स्थानमा ७९२ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा हाल २०३ जना रहेका छन् भने २८७ जनाले क्वारेन्टाइन अवधि पूरा गरी घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।