१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको सम्भावित जोखिम न्यूनिकरणका लागि जारी गरिएको बन्दाबन्दीका बीच दुई अध्यादेश ल्याउनुभएको थियो । दुई मध्ये एक पार्टी विभाजन सम्वन्धी खुकुलो अध्यादेश जारी भए संगै नेपाली राजनितीमा नयाँ तरङ्ग उत्पन्न भयो ।
अध्यादेश जारी भएपछि मधेश केन्द्रित दलका केही अशन्तुष्ट पक्षहरुले पार्टी फुटाउन प्रयत्न गरे । मुख्य त समाजवादी पार्टीका केही अशन्तुष्ट पक्षलाई यो अध्यादेशले निकै सजिलो बनाईएको दिएको थियो । तर उनिहरुले पार्टी फुटाईसकेपछि प्राप्त गर्ने पद वाडफाडको कुरो नमिल्दा पार्टी फुटबाट जोगिएको छ ।
समाजवादी पार्टी फुटाउन कम्तिमा ७ जना सांसद सदस्य संख्या भए पुग्थ्यो । त्यसका लागि मोहम्मद इस्तियाक राइ र उमाशंकर अडगरिया केही दिनयता सक्रिय भइसकेका थिए । स्रोतका अनुसार दुबैले सबै चाँजोपाँजो मिलाइरहेका थिए । पार्टीकी उपाध्यक्ष समेत रहनुभएकी रेणु यादव नेतृत्वकर्ता नै हुनुहुन्थ्यो ।
स्रोतका उपाध्यक्ष यादवलाई नयाँ पार्टी दर्ता गरेपछि उपसभामुख पद दिने आश्वाशन सत्तारुढ दलबाट थियो । सभामुख नेकपाको भइसकेकाले संविधान अनुसार उपसभामुख अर्काे दलको हुनुपथ्र्याे । रेणु अर्काे दलको हुने भएकाले उहाँलाई उपसभामुख दिने गरी टुंगो लगाइसकिएको स्रोतको भनाई छ ।
पार्टी फुटाएपछि बाँकी ६ जनाको आ–आफ्नै दाबी थियो । फुटेपछि कम्तिमा दुईमन्त्रीको दाबी थियो । तर, एक मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाइएको थियो । मोहम्मद इस्तियाक राई यसअघि पनि शहरी विकासमन्त्री भइसकेका थिए । उनी फेरि मन्त्री बन्ने दैडमा थिए ।
सांसद डा. सुरेन्द्र यादव स्वास्थ्यमन्त्री बनाइने आश्वासनपछि पार्टी विभाजनको लागि तयार भएर समूहमा आवद्ध भएका थिए । महोत्तरीस्थित उनकै घरमा पुगेर कुरा भए अनुसार स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरिएपछि उनी सहमत भएका थिए । विगतमा स्वास्थ्य राज्यमन्त्री भएका डा. यादवलाई फुल मन्त्री बनाउने भनिएपछि उनी मख्ख भएर काठमाडौं आएर नक्शालस्थित होटल मेरियटमा बसे । त्यहाँ पार्टी फुटाउन तयारी गरेका अन्य सांसदहरु पनि उपस्थित थिए ।
स्रोतका अनुसार होटल मेरियटको ७०१ देखि ७०५ कोठा नम्बर बुकिङ गरेर राखिएको थियो । रातभर उपसभामुख, एकमन्त्री र एक राज्यमन्त्री बाँडफाँड गर्ने र भोलिपल्ट विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नयाँ पार्टी दर्ता गर्ने योजना बुनिएको थियो । तर, रातभर मन्त्री कस्ले खाने भन्ने बिषयको बिवाद मिलेन ।
स्वास्थ्यमन्त्री बन्न मोहम्मद इस्तियाक राइ र सुरेन्द्र यादव बीच तिब्र प्रतिष्पर्धा थियो । यादवले मन्त्री नपाउने अवस्था देखे । त्यसपछि उनी भड्किए । मध्यरातमा समाजवादी र राजपा एकीकरण भइसकेको थियो । अवस्था निकै परिवर्तन भइसकेपछि यादवले होटलमै समाजवादी पार्टीका नेताहरुलाई डाके । उनी त्यहाँबाट आफ्नो बाटो लागे । यसरी समाजवादी पार्टी फुटको खेल तुहियो ।
पार्टी फुटबाट जोगिएपछि फुटको अन्तिम तयारीमा लागेका संसादहरुले अहिले आएर विज्ञप्ति निकाल्दै आफू यसमा संलग्न नभएको भन्न थालेका छन् । उनीहरुले अहिले आएर पार्टी एकताको स्वागत गर्दै दरिलो ढंगले अगाडि बढ्ने समेत बताएका छन् ।