
१० बैशाख, इलाम । चीनको तिब्बतबाट आठ करोड नेपाली मुल्य बरावरको स्वास्थ्य सामाग्री नेपाल ल्याईने भएको छ । कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न तिब्बत सरकारले उपलब्ध गराएका दुईवटा पीसीआर मेशिन र त्यसका २० हजार किट सहितका स्वास्थ्य सामग्री आज नेपाल आईपुग्ने बताईएको छ ।
हाल कतिपय अत्यावश्यक किटहरूको अभाव हुन सक्ने विवरण आइरहेका बेला ती सामग्री नेपाल ल्याउन लागिएको हो । आज नै भन्सार प्रक्रिया गरी ती सामग्री तातोपानी नाका मार्फत नेपाल ल्याउने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सहयोगमा आउने सामग्रीमा स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षाकालागि प्रयोग गर्ने एन ९५ मास्क र पीपीई १०,००० थान रहेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या तथा समन्वय महाशाखाका प्रमुख डा. रमेश पोखरेलका अनुसार कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्न प्रयोग गरिने दुईवटा पीसीआर मेशिन र त्यसमा प्रयोग हुने रिअजेन्ट र स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएम २०,००० थान ल्याउन लागिएको हो ।
त्यसबाहेक १,००० वटा ज्वरो नाप्न प्रयोग गरिने इन्फ्रारेड थर्मामिटर पनि तिब्बतले सहयोग दिएको उहाँले जानकारी दिनुभएको छ ।
आज बिहान चिनियाँ पक्षले तातोपानीको सीमावर्ती मितेरी पुलमा नेपाली पक्षलाई ती सामग्री उपलब्ध गराईसकेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७