इलामका १० स्थानिय तहमा थप ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणकालागि पहल सुरु

इलामका १० स्थानिय तहमा थप ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणकालागि पहल सुरु

८ बैशाख, इलाम । प्रदेश नम्वर एकमा कोरोना भाइरसका संक्रमित व्यक्तिहरु फेला पर्न थालेपछि इलाममा थप क्वारेन्टाइन निर्माणका लागि पहल सुरु भएको छ । जिल्लामा रहेका १० वटा स्थानिय तहहरुमा ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणका लागि पहल सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइको नेतृत्वमा गठन भएको विपद व्यवस्थापन समितिको बैठकले स्थानिय तहहरुलाई थप क्वारेन्टाइन निर्माण गर्न तथा बेडको क्षमता बढाउन निर्देशन दिएको छ । जस अनुसार सूर्याेदय नगरपालिका र रोङ गाउँपालिकामा २ सय बेड क्षमताको क्वारेन्टाईन निर्माण गर्न पहल सुरु भएको छ ।

यस्तै इलाम नगरपालिकामा १ सय बेड र माईजोगमाई गाउँपालिकामा ८० बेड क्षमताको क्वारेन्टाईन निर्माण गर्न निर्देशन दिईएको छ । माई नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर, चुलाचुली, फाकफोकथुम र माङसेवुङ गाउँपालिकामा भने थप ५०÷५० बेड क्षमताको क्वारेन्टाईन निर्माण गर्न पहल सुरु भएको छ ।

क्वारेन्टाइन निर्माणका लागि आवश्यक समाग्रीहरुको अनुमानित मुल्य सहितको कार्ययोजना तयार गरि अनुमानित बजेट रु ६८ लाख ९४ हजार ४८० रुपँैया प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग गर्ने निर्णय समेत गरिएको बताईएको छ ।

यसकासाथै संविधानसभाका अध्यक्ष एवम प्रतिनिधीसभा सदस्य सुवासचन्द्र नेम्वाङको पहलमा आएको स्वास्थ्य सामाग्री सवै स्थानियतहरुमा साथै स्वास्थ्य तथा सुरक्षा निकायहरुमा वितरण गर्ने समेत बैठकले निर्णय गरेको छ । नेम्वाङको पहलमा ३५०० सेट सर्जिकल मास्क, ५० सेट एन–९५ मास्क, १० सेट पिपिई र १० सेट थर्मल गन प्राप्त भएको छ ।

साथै सो बैठकले जिल्ला भित्र संचालित विकास निर्माणका आयोजनाकालागि अत्यावश्यक निर्माण सामाग्री जिल्ला भित्र ढुवानी गर्न बेलुका ६ बजे देखी विहान ८ बजेभित्रको समय सिमा निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई, जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, ३ वटै सुरक्षा निकायका प्रमुख एंवम प्रतिनिधि, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभु शाह, स्वास्थ्य कार्यालय प्रमुख वृजकुमार दास लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर