७ बैशाख, सुनसरी । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय आइसोलेसन बेडको कोभिड १९ उपचार केन्द्र युद्धस्तरमा तयार भइरहेको छ ।
अबको एक साताभित्र यो उपचार केन्द्र सञ्चालनमा आउने प्रतिष्ठानले जनाएको छ । आउदो बैशाख १२ गतेभित्र तयार हुने भनिएको केन्द्रमा स्वास्थ्यकर्मीहरु आवश्यक काममा जुटिसकेका छन् । यस्तैगरी भौतिक संरचना पनि धमाधम मर्मत तथा निर्माण भइरहेका छन् ।
प्रतितष्ठानका नर्सिङ इञ्चार्ज स्माइल शाहका अनुसार सय बेड राख्नलाई पर्याप्त ठाउँ भएको र आवश्यक्ता अनुसार सय बेड भन्दा बढी विस्तार गर्ने ठाउँ रहेको जनाईएको छ । बेडको कुनै समस्या नभएको र प्रष्ठिानले सय वटा बेडलाई तयारी अवस्था राखेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार अस्ति शुक्रबारदेखि नै द्रुत गतिमा काम सुरु भईसकेको छ ।
प्रतिष्ठानमा नयाँ उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी नियुक्ती भए लगत्तै प्रतिष्ठानको हाडजोर्नी विभाग मातहतमा रहेको पुर्नस्थापना केन्द्रलाई कोभिड १९ उपचार केन्द्र बनाउन कार्य थालिएको हो । एक साताभित्रमा विरामी उपचार गर्न सक्ने अवस्थामा तयार हुने ईञ्चार्ज शाहले बताउनुभयो ।
केन्द्रमा कोरोना पोजेटिभ कोही विरामीलाई जटिल समस्या भएमा अप्रेशन समेत गर्नसकिने गरी शल्यक्रिया कक्षको पनि निर्माण हुने उहाँले जानकारी दिनुभयो ।