एजेन्सी । विश्व स्वास्थ्य संगठन (WHO)ले कोरोना भाइरस लागेर निको भएका व्यक्तिमा फेरि दोस्रो पटक कोरोना संक्रमण हुँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म फेला नपरेको जनाएको छ । डेलिमेलका अनुसार डब्ल्युएचओले एन्टिबडीका लागि ठूलो रकम लगानी गर्न थालेका विभिन्न देशलाई चेतावनी दिदै कोरोना संक्रमित व्यक्तिको इम्युनिटीको कुनै ग्यारेन्टी गर्न नसकिएको प्रष्टिकरण दिएको छ ।
संसारका विभिन्न देशका विशेषज्ञले एक पटक कोरोना संक्रमण भएपछि दोस्रो पटक फेरि नहुँने बताएका थिए । दक्षिण कोरियामा भने १ सय जनामा फेरि संक्रमण फैलिएको समाचार सार्वजनिक भएको छ । दक्षिण कोरिया सरकारले यो विषयमा अनुसन्धानका लागि निर्देशन दिएको छ । केही स्वास्थ्य विशेषज्ञले भने पहिलो पटक संक्रमण भएर निको नभएको र बीचमा कुनै कारणले नेगेटिभ रिपोर्ट आएको हुनसक्ने जनाएका छन् ।
अहिलेसम्म संसारका धेरै स्वास्थ्य विशेषज्ञले कोरोना भाइरसको संक्रमण एक पटक भएपछि फेरि अर्को पटक संक्रमण हुने खतरा अत्यन्तै न्युन भएको बताएका छन् । तर डब्ल्युएचओले यो धारणा पुष्टि गर्नका लागि कुनै पनि प्रकारको आधार नभएको प्रष्टिकरण दिएको छ ।
बेलायतले ३ करोड ५० लाख एन्टिबडिज टेष्ट किट चीनबाट किन्ने योजना बनाएको थियो । यसबाट कुनै व्यक्ति कोरोना संक्रमण भइसकेको थियो वा थिएन भन्ने जानकारी लिने उद्देश्य राखिएको थियो । तर चिनियाँ कम्पनीले निर्माण गरेको किटमा बेलायतले आशंका व्यक्त गर्दै निर्णय पुर्नविचार गर्ने तयारी गरेको छ ।
तर संसारका धेरै देशले ठूलो मात्रामा एन्जिबडिज् टेस्टिङ्गको योजना बनाएका छन् । कोरोना संक्रमितको पहिचान गरेर उनीहरुलाई काममा लगाउने योजना विभिन्न देशको रहेको छ । किन कि उनीहरुमा कोरोना संक्रमणको जोखिम छैन भन्ने धेरैको ठहर छ ।
विश्व स्वास्थ्य संगठनको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रयान कोरोना लागेर निको भएका व्यक्तिमा कोरोना प्रतिरोधी क्षमता हुन्छ भन्ने सीमित प्रमाण मात्र भएको बताउँछन् । अहिलेसम्म वैज्ञानिक तरिकाले कोरोनाविरुद्धको एन्टिबडी भएको व्यक्ति पूर्णरुपमा सुरक्षित हुन्छ भन्ने कुरा कसैले पनि पत्ता नलगाएको उनले बताए । अहिले नै दोस्रो पटक कोरोना हुँदैन भन्ने किटान गर्न नसकिने डब्ल्युएचओले जनाएको छ ।
डा. रयानले एन्टिबडीले कहिलेसम्म मानिसलाई सुरक्षित राख्न सक्छ भन्ने कुराको पनि अध्ययन हुन जरुरी भएको बताएका छन् । डब्ल्युएचओकी एक अधिकारी डा. मारिया वेन केरखोवले कुनै पनि व्यक्तिमा कोरोना संक्रमण भएर रोग प्रतिरोधी क्षमता बिकास भएको छ वा छैन भन्ने विषयमा पनि थप अध्ययन आवश्यक रहेकोमा जोड दिएकी छन् ।