नेपालमा एकै दिनमा १४ जना कोरोना संक्रमित भेटीए, संक्रमित संख्या ३० पुग्यो

नेपालमा एकै दिनमा १४ जना कोरोना संक्रमित भेटीए, संक्रमित संख्या ३० पुग्यो

५ बैशाख, काठमाण्डौँ । नेपालमा एकै दिन १४ जनालाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । आज उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनका २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उदयपुरमा भेटिएका १२ जना भारतीय व्यक्ति कोरोना संक्रमित पुष्टि भएको आफूलाई जानकारी आएको बताउनुभएको छ ।

यस्तै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए ।

हालको अध्यावधिक विवरण अनुसार कोरोना भाइरसको जम्मा पुष्टि भएको संख्या ३० पुगेको छ । आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ । जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केस (२ पुरुष, २७ र ६३ वर्षीय) रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि नै १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर